चलचित्र ‘वसन्त’ युरोपभर पनि प्रदर्शन हुने - Elaka Khabar

चलचित्र ‘वसन्त’ युरोपभर पनि प्रदर्शन हुने

चलचित्र ‘वसन्त’ युरोपभर पनि प्रदर्शन हुने

नेपाली चलचित्र ‘वसन्त’ युरोपका धेरैजसो देशमा प्रदर्शन हुने भएको छ । नेपालमा चैत २२ गते (अप्रिल ०४) मा रिलिज हुदैछ । युरोपका केही देशमा सोही दिन चल्नेछ भने बाँकी देशमा केही दिन पछि लाग्नेछ ।

प्रकाश सपुतको कथा, संगीत र निर्देशनमा बनेको ‘वसन्त’को मुख्य कलाकारहरुमा सपुत, स्वस्तिमा खड्का, खड्ग बहादुर पुन्, प्रभात पाल, उर्मिला लाम्गादे, श्री शिभांसी लगायत छन् । यो सिनेमा यसवर्षको बहुप्रतिक्षित सिनेमा हो ।

युरोपभर प्रदर्शनको राइट्स नेपाल मुभी टाइम (एनएमटी)डेनमार्कले खरिद गरेको छ । एनएमटीका सन्चालक राजमान तामाङले युरोपका १ दर्जनभन्दा बढी देशमा चलचित्र ‘वसन्त’ चल्ने जानकारी दिए ।

‘युरोपका धेरै देशमा ‘वसन्त’ रिलिज गर्ने फाइनल भएको छ’ तामाङले भने ‘यसवर्षको प्रतिक्षित सिनेमा हो, वसन्त हेर्न युरोपका धेरै नेपाली उत्साहित छन् ।’

डेनमार्क, माल्टा, पोर्तुगल, क्रोएशिया, फ्रान्स, स्विडेन, साइप्रस, जर्मनी, पोल्याण्ड, चेक रिपब्लिक, बेल्जियम, नेदरल्याण्ड र रोमानियामा चलचित्र ‘वसन्त’ प्रदर्शन हुनेछ । भने स्पेन, नर्वे, फिण्डल्याण्ड, आयरल्याण्ड, ग्रीस, स्विजरल्याण्ड, लक्जमवर्गमा पनि प्रदर्शनको तयारी हुदैछ ।

पछिल्लो समयमा एनएमटीले चर्चित र राम्रा नेपाली चलचित्रहरु युरोपमा प्रदर्शन गर्दै आएको छ । तेलभिषा, छक्कापन्जा, महाजात्रा लगायतका दर्जनौं चलचित्र सफल रुपमा प्रदर्शन गरिसकेको छ ।

एनएमटीका अर्का सन्चालक सुदिप सामले नेपालमा सिनेमा रिलिज हुंदासाथ युरोपमा रहेका नेपालीले पनि हेरुन भनेर राम्रा चलचित्रहरु ल्याउने गरेको बताए ।

पछिल्लो समयमा ‘वसन्त’का गीतहरु चर्चामा छन् । ‘नेपाली समाजको अर्ग्यानिक कथा र अभिनय ‘वसन्त’मा दर्शकले पाउनुहुनेछ, युरोपका धेरै देशमा सिनेमा लाग्दैछ सबै नेपालीले हेर्नुहोला ।’ चलचित्र ‘वसन्त’ प्रोजेक्ट हेड दिल श्रीषले भने ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सिनेमाको निर्माता मोहन विश्वकर्मा र विन्दु बोहोरा हुन् भने कार्यकारी निर्माताहरुमा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् । चलचित्रको मुख्य सहायक निर्देशक सुनिल विक हुन् ।

ताजा समाचार