गलकोटमा सामाजिक विभेद तथा छुवाछुत अन्त्यका लागि प्रशिक्षण - Elaka Khabar

गलकोटमा सामाजिक विभेद तथा छुवाछुत अन्त्यका लागि प्रशिक्षण

गलकोटमा सामाजिक विभेद तथा छुवाछुत अन्त्यका लागि प्रशिक्षण

बागलुङ : गलकोट नगरपालिकामा सामाजिक विभेद तथा छुवाछुत अन्त्यका लागि १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

घुम्टे दलित सञ्जालको आयोजना तथा गलकोट नगरपालिकाको आर्थिक सहयोगमा आज ‘सभ्य नागरिक बनौं जातिय विभेद अन्त्य गरौँ ’ भन्ने नाराका साथ सामाजिक विभेद तथा छुवाछुत अन्त्यका लागि १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौबीले पहिलेको समयमा भएका दलित आन्दोलनलाई भुलेर दलित हक, अधिकार प्राप्त गर्न नसकिने बताउनुभएको छ । उहाँले नेपालको संविधानमा दलितका हक अधिकार, कानुन निर्माण भएपनि पूर्ण रुपमा कार्यान्वयन हुन नसक्दा आज पनि छुवाछुत प्रथाको अन्त्य हुन नसकेको बताउनुयो ।

पौबीले दलितका समस्याहरुलाई प्रदेशमा समेत आफुले उठान गरेको बताउदै सबैजना एकजुट भएर लागेमा मात्रै आफ्नो अधिकार सुनिश्चित गर्न सकिने बताउनुभएको थियो । उहाँले दलितसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु स्थानीय सरकारसँग माग गरी सञ्चालन गर्नुपर्ने कुरा उल्लेख गर्नुभएको थियो ।

सो अवसरमा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्री, क्षेत्रीय दलित संघका अध्यक्ष सोम बहादुर पौबी (प्रेम), घुम्टे दलित सञ्जालका महासचिव लाल बहादुर बिक, गलकोट नगर कार्यपालिका सदस्य रामप्रसाद बिक, दलित अधिकारकर्मी ललित मरासिनी, धना खड्काथोकी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राम प्रसाद कडेंल, गलकोट नगर कार्यपालिका सदस्य राम प्रसाद विक, गलकोट नगरपालिका वडा नं ४ का वडा सदस्य जमुना दर्जी, उमेश नेपालीले गलकोटमा दलितको अवस्था, दलित र गैर दलित बीचको सम्बन्ध, दलित समुदायलाई आवश्यक पर्ने तालिम लगायतको बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।

सो अवसरमा प्रशिक्षक सिताराम थापाले दलितको इतिहास, दलित जातिको वर्गीकरण, दलितको वर्ग व्यवस्था, दलित आन्दोलनको सुरुवात, दलित महिला प्रति गरिने विभेद, दलितको प्रकार, दलित वर्गका समस्या, दलित समुदायलाई नेतृत्व एवम् क्षमता विकासको आवश्यकता, दलितका संवैधानिक अधिकार, शैक्षिक अवस्था लगायतको बारेमा प्रशिक्षण गर्नुभएको थियो ।

कार्यक्रम घुम्टे दलित सञ्जालका अध्यक्ष ओम सुनारको अध्यक्षता, कार्यक्रम संयोजक बाल सिंह परियारको स्वागत र सचिव कृष्ण नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा समाचार