
विद्यामन्दिर पुस्तकालय, बागलुङ–२००३ को ७७औँ स्थापना दिवस त्रिदिवसीय कार्यक्रमसहित मनाइने भएको छ । देशकै पुरानो र अग्रणीमध्येको उक्त पुस्तकालय विसं २००३ श्रीपञ्चमी पर्वका दिन स्थापना गरिएको थियो ।
सोही तिथिलाई पारेर यस वर्ष माघ २९ देखि फागुन २ गतेसम्म विविध कार्यक्रमसहित दिवस मनाउन लागिएको पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’ले जानकारी दिए । उनका अनुसार दिवसको पहिलो दिन सरसफाइ सचेतना र दिवसको प्रचारात्मक कार्यक्रम गरिनेछ ।
दिवसको दोस्रो दिन फागुन १ गते बिहान प्रभातफेरिको आयोजना गरिएको पनि अध्यक्ष थापाले जनाए । प्रभातफेरिमा पुस्तकालय परिवार, सदरमुकामस्थित विद्यालयका विद्यार्थी, शिक्षक, सामाजिक अगुवा, शिक्षासेवीसहित पुस्तकालप्रेमीको सहभागीता रहने छ ।
सोही दिन दिउँसो पुस्तकालयको महत्व र आवश्यकता विषयक अन्तरक्रिया र पुस्तकालयद्वारा सञ्चालित बाल विकास केन्द्रका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम तय गरिएको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले बताए । शर्माका अनुसार फागुन २ गते श्रीपञ्चमी पर्वका दिन दिवसको मुख्य समारोह आयोजना गरिने छ ।
सो दिन सरस्वती पूजा, पुस्तकालयको महत्वबारे प्रवचन, पूर्वअध्यक्ष सम्मान, बालबालिकालाई झोला र स्टेनशनरी सामग्री वितरण, दाताहरुबाट पुस्तकालयलाई सहयोग हस्तान्तरणलगायत कार्यक्रम हुने छ।
पुस्तकालयको इतिहासमा पहिलोपटक गत वर्षदेखि स्थापना दिवस मनाउन थालिएको हो । राणाकालको प्रतिकुल समयमा खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको सामाजिक, राजनीतिक जागरणको केन्द्रको रुपमासमेत विद्यामन्दिर पुस्तकालयलाई लिइन्छ । स्थापनाकालमा काठमाडौं उपत्यकाहुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १५ हजार पुस्तक छन् ।
पुस्तकालयमा अहिले विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि छ । पुस्तकालयले बाल विकास केन्द्र पनि सञ्चालन गरिरहेको छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक ठाँटीको पौवामा चलेको पुस्ताकालय अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालित छ । दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्यले पुस्तकालय स्थापना गरेका थिए ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
