शिक्षा विधेयकका पक्षमा सदन र सडकबाट दबाब आवश्यक छ–प्रचण्ड - Elaka Khabar

शिक्षा विधेयकका पक्षमा सदन र सडकबाट दबाब आवश्यक छ–प्रचण्ड

शिक्षा विधेयकका पक्षमा सदन र सडकबाट दबाब आवश्यक छ–प्रचण्ड

 नेकपा माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन र सडकबाट दबाब आवश्यक रहेको बताएका छन् ।

  सदनबाट आफ्नो पार्टीले दबाब दिने भन्दै उनले शिक्षकहरूलाई सडकबाट दबाब दिन आग्रह गरे ।  एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद तथा शिक्षक समाज नेपालसँगको एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले शिक्षकहरूलाई सडक आन्दोलनका लागि तयार रहन आग्रह गरे । शिक्षकहरुको सडक आन्दोलनलाई पार्टीको पूर्ण समर्थन रहने भन्दै उनले आफू सहभागी हुनेसमेत प्रतिवद्धता जनाए ।
आफू नेतृत्वको सरकारले शिक्षा विधेयक संसदमा दर्ता गरेर पारित गर्ने प्रयास गर्दा सरकार ढलेको भन्दै प्रचण्डले शिक्षक कर्मचारीको अधिकार प्राप्तिका लागि शिक्षा विधेयक संसदबाट पारित हुनुपर्ने बताए । शिक्षा विधेयक पारित गर्न सदनमा छलफल र सडकमा आन्दोलन चर्काउनुपर्नेमा उनको जोड थियो ।
शिक्षा नसुध्रिएसम्म देश नसुध्रने र शिक्षा सुध्रन शिक्षा विधेयक संसदबाट पारित हुनुपर्ने भन्दै प्रचण्डले भने–शिक्षा विधेयकका पक्षमा हुने शिक्षकका जुनसुकै आन्दोलनलाई हामी सघाउँछौँ । विद्यालय कर्मचारी, इसिडि, राहत, करारलगायतका शिक्षाका मुद्दा सम्बोधन शिक्षा ऐनबाट मात्रै सम्भव रहेकोमा उनको जोड थियो ।
कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आउँदो संसदको हिउँदे अधिवेशनमा शिक्षा विधेयक पारित गर्न दबाब दिन शिक्षकहरुले सडकबाट दबाब दिने बताए । अब हिउँदे अधिवेशन शुरु हुनसाथ शिक्षकहरू सडकमा उत्रनेछन्, शिक्षा विधेयक संसदबाट पारित नभएसम्म आन्दोलन र दबाब जारी रहनेछ–सुवेदीले भने ।
शिक्षा विधेयक पारित हुन षडयन्त्र हुनसक्ने भन्दै अध्यक्ष सुवेदीले छिट्टै २ लाख ५० हजारर शिक्षक सडकमा उतारेर शिक्षक आन्दोलन भाग–२ गर्ने उद्घोष गरे । हिउँदे अधिवेशनमा शिक्षा विधेयक संसदबाट पारित हुनै पर्छ भन्दै सुवेदीले अन्यथा शिक्षकले बानेश्वर, सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिए ।
कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले उत्पीडित शिक्षकको अधिकार प्राप्तिका लागि शिक्षा विधेयक संसदबाट पारित हुनैपर्ने बताए । आउँदो संसदको हिउँदे अधिवेशनमा शिक्षा विधेयक पारित नभए सडकमा शिक्षक आन्दोलन भाग–२ शुरु हुने उनको चेतावनी थियो ।
अधिकार र कर्तव्यसहित सूचना प्रविधि, आर्टिफिसियल इन्टिलिजेन्सयुक्त गरिखाने शिक्षा निर्माणका लागि मुलुकमा एकीकृत शिक्षक आन्दोलन आवश्यक रहेकोमा उनको जोड थियो ।
२ दिनसम्म चल्ने संगठनको परिषद भेलामा देशभरका ५ सय बढी शिक्षकहरुको सहभागिता रहेको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन र शिक्षक समाजबीच एकता घोषणाकाठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन र शिक्षक समाज नेपालबिच एकता घोषणा गरिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आज काठमाडौंमा दुई संगठनबीच एकता घोषणा गरिएको हो । योसँगै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी निकट शिक्षक समाजका सबै तहका कमिटी नेकपा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएका छन् ।एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी र शिक्षक समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गरेका हुन् । कार्यक्रममा दुबै संगठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबीच एकता भएको जानकारी दिइएको थियो ।  संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षक हकहितका आवाज पूरा गर्न एकता र ध्रुवीकरण आवश्यक रहेको बताए । शिक्षक संगठनहरुसित सरकारले गरेका सम्झौता पूरा गराउन फेरि एकताबद्ध आन्दोलन आवश्यक रहेकोमा उनको जोड थियो ।
समाजका अध्यक्ष ठाकुरनाथ गौतमले शैक्षिक आन्दोलनलाई अघि बढाउन एकता आवश्यक रहेको बताए । समाजवादी शिक्षा प्रणालीका लागि समाजवादी बौद्धिक शक्ति एक हुनुपर्नेमा उनको जोड थियाे ।

ताजा समाचार