
बागलुङ : स्वास्थ्य कार्यलय बागलुङ र बागलुङ नगरपालिकाले कात्तिक दोश्रो साता पनि डेंगीविरुद्ध अभियान चलाएको छ । अझै पनि डेंगीको अबस्था बढ्दै गएपछि खोज र नष्ट गर अभियानसँगै सचेतना कार्यक्रम पनि गरेको हो ।
आइतवार पनि सचेतना मुलक पर्चा बितरण गर्दै घरघर, रेष्टुरेन्ट र पानी जम्ने स्थानमा पुगेर अभियान चलाइएको हो । मोटर ग्यारेज, होटल तथा रेष्टुरेन्टमा जमेको पानी फाल्ने, भएको सफा पानी छोपेर राख्न लगाउने, फोहोरको पनि उचित व्यवस्थापन गर्न लगाउने सुझाव दिएको बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
बाहिर हेर्दा झट्ट सफा देखिएका होटल तथा रेष्टुरेन्टको भित्र पुग्दा सरसफाइ अभाव देखिएकोले यो अभियान फेरी चलाउनु परेको उनले बताए । स्वास्थ्य कार्यालय र नगरपालिकाले डेंगी बिरुद्द सचेतना अभियान संचालन गर्दा फोहोरको थुप्रो, खुला पानीका ड्रम लगायतका स्थानमा लार्भा भेटिने नमूनासमेत देखाएर सचेत बनाइएको थियो । कात्तिकको ११ गतेसम्म पनि डेंगीका बिरामी उत्तिकै आउन थालेपछि स्वास्थ्य कार्यालय र नगरपालिकाले खोज र नष्ट गर अभियान फेरी चलाएको हो ।
बिशेषगरी अभियानमा मोटर ग्यारेजमा राखिएका ड्रम र टायरमा जमेको पानी तत्कालै हटाइएको थियो । कतिपय होटलमा दशैंदेखि थापेको पानी नछोपेको भेटिएको थियो । मोटर ग्यारेजमा पनि ड्रमका पानी फोहोर जम्न थालिसकेको र लार्भा समेत भेटिएको थियो । ‘डेंगी नियन्त्रणमा आम नागरिकको चासो अझै बढेको पाइएन’ खनालले भने, ‘कतिपयले बिरामी भएर सुतेका छन् तर घरै पछिको लार्भा आउने स्थान पुरेका छैनन् ।’ अभियानमा कतिपय पानी पोख्ने काम समेत भएको उनले बताए ।
स्वास्थ्य कार्यालय बागलुङकी मलेरिया इन्स्पेक्टर लक्ष्मी थापाका अनुसार कात्तिक १० गते सम्म जिल्ला भित्रका सरकारी अस्पतालबाट डेंगी पुष्टी भएका मात्रै १ हजार ८८ जना छन् भने नीजि क्लिनिकबाट त्यतिनै संख्यामा पुष्टी भएकाहरु भेटिएको हो । दैनिक १ सय बढीले डेंगीको परीक्षण गराएको तथ्यांक समेत उनले बताइन् । शुरुशुरुमा त किट समेत अभाव भएको गुनासो आएको थियो । कार्यालयले सबै स्वास्थ्य संस्थामा किट पठाएर परीक्षणको दायरा फराकिलो बनाएपछि संख्या पनि बढिरहेको हो । अधिकांस बिरामीको डेंगीसँगै लक्षण मिल्ने ज्वरो, टाउको र शरिर दुख्ने लक्षण भएकाहरु समेत आउने गरेका छन् । जसका कारण शंकास्पद देखेर किट झनै धेरै खर्च भैरहेको हो ।
पछिल्लो समय बिद्यालय उमेरका बालबालिकामा पनि डेंगी समस्या बढी देखिएको छ । डेंगी देखिएका बालबालिकामा प्लेटिलेससमेत कम भएको भेटिएको चिकित्सकहरु नै बताउँछन् । प्लेटिलेसको समस्याले आफन्तले बिरामीलाई पोखरा लैजान बाध्य समेत भएका छन् । बागलुङको बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा डेंगीका बिरामी तुलनात्मक धेरै भेटिएको हो । हरेक दिनजसो वडा र पालिकाको सहकार्यमा संक्रमण रोक्ने प्रयास भएको हो । जिल्ला प्रशासनले त हरेक शुक्रवार सरकारी तथा अन्य कार्यालयको सफाईमा कर्मचारी नै खटाएको बताए ।
‘साउनदेखि हरेक शुक्रवार कार्यालय सफाइ अभियान थालेका छौं, हरेक शनिवार टोलबासीलाई पनि आग्रह गरेका छा,ैं’ प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले भने, ‘डेंगी अझै बढ्न सक्ने लक्षण देखिएकोले कात्तिकभर पनि खोज र नष्ट गर अभियानलाई तीब्रता दिन लगाएका छौं ।’ उनले कार्यालय प्रमुख र सुरक्षा बैठकमा समेत एजेण्डा लगेको बताए ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
