विद्यामन्दिर पुस्तकालयको आयाेजनामा प्रभातफेरी र बालबालिकाको दन्त परीक्षण - Elaka Khabar

विद्यामन्दिर पुस्तकालयको आयाेजनामा प्रभातफेरी र बालबालिकाको दन्त परीक्षण

विद्यामन्दिर पुस्तकालयको आयाेजनामा प्रभातफेरी र बालबालिकाको दन्त परीक्षण

बागलुङ स्थित विद्यामन्दिर पुस्तकालयको ७७औँ स्थापना दिवसअन्तर्गत मङ्गलबार प्रभातफेरीसहित बालबालिकाको निःशुल्क दन्त परीक्षण गरिएको छ । पुस्तकालयको महत्व र उपयोगिताबारे सन्देश दिन आयोजित प्रभातफेरी बागलुङ बजार परिक्रमा गरी सकिएको थियो ।

   प्रभातफेरीमा सदरमुकामस्थित विभिन्न विद्यालयका विद्यार्थी, पुस्तकालयका पदाधिकारी, सदस्य, कर्मचारीलगायत पुस्तकालयप्रेमीको सहभागिता रहेको थियो ।

प्रभातफेरीमा सहभागी झण्डै ५० जना विद्यार्थीलाई सो अवसरमा पुस्तकालयका तर्फबाट शैक्षिक सामग्री प्रदान गरिएको थियो । प्रभातफेरीपछि पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’ पुस्तकालयको इतिहास र स्थापना दिवसबारे संक्षिप्त रुपमा प्रकाश पार्दै सहभागीलाई आभार व्यक्त गर्नुभएको थियो ।

दिवसकै सन्दर्भ पारेर मङ्गलबार नै पुस्तकालयद्वारा सञ्चालित बालविकास केन्द्रका बालबालिकाको निःशुल्क दन्त परीक्षण गरिएको छ । बागलुङ बजारस्थित अशोक डेन्टलको प्राविधिक सहयोगमा आयोजित दन्त परीक्षण शिविरबाट बालविकास केन्द्रका २५ जना बालबालिकाले लाभ लिएको अध्यक्ष थापाले बताउनुभयो ।

परीक्षणबाट दाँतको समस्या पहिचान भएका बालबालिकाले अशोक डेन्टलबाट आगामी वर्षभरी निःशुल्क उपचार सेवासमेत पाउने उहाँको भनाइ छ । सोही अवसरमा दाँतलाई स्वस्थ राख्न चाहिने विभिन्न सरसफाइ सम्बन्धी सामग्री बालबालिकालाई वितरण गरिएको थियो । पुस्तकालयले अशोक डेन्टलसँगको सहकार्यमा बालबालिकाको दाँत सम्बन्धी हेरचाह र उपचारत्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पुस्तकायले सोमबारदेखि त्रिदिवसीय कार्यक्रमसति पुस्तकालय दिवस मनाउन सुरु गरेको हो । सोमबार सरसफाइ सचेतना, ब्यानर प्रदर्शन र दिवसको प्रचारात्मक कार्यक्रम सम्पन्न गरिएको थियो । दिवसको मूल समारोह बुधबार आयोजना गरिने भएको छ । बुधबार सरस्वती पूजा, प्रवचन, पूर्वअध्यक्ष सम्मान, बालबालिकालाई शैक्षिक सामग्री वितरण, पुस्तकालयलाई सहयोग हस्तान्तरणलगायतका कार्यक्रम हुने अध्यक्ष थापाले बताउनुभयो ।

सो अवसरमा पुस्तकालयका पूर्वअध्यक्ष महेश राजभण्डारी, हिक्मत गौचन, विश्वज्योति गौचन र लालचन्द्र राजभण्डारीलाई सम्मान गर्न लागिएको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो । समारोहमा पुस्तकालयका अक्षयकोष दाता, आजीवन सदस्यलगायतलाई पनि सम्मान गरिने भएको छ ।

देशकै पुरानो र अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय विसं २००३ मा श्रीपञ्चमी पर्वका दिन स्थापना गरिएको थियो । सोही तिथिलाई पारेर गत वर्षदेखि पुस्तकालयले स्थापना दिवस मनाउन सुरु गरेको थियो ।

   राणाकालको प्रतिकूल परिस्थितिमा खेलका कारण पनि विद्यामनिदर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रकै सामाजिक, राजनीतिक जागरणको केन्द्रको रुपमासमेत यस पुस्तकालयलाई लिइन्छ । स्थापनाकालमा काठमाडौँ उपत्यकाहुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १५ हजार पुस्तक छन् । पुस्तकालयमा अहिले विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी० पनि छ ।

पुस्तकालयले बालविकास केन्द्र पनि सञ्चालन गरिरहेको छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदे सार्वजनिक ठाँटीको पौवामा चलेको पुस्तकालय अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालित छ ।

  दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्यले पुस्तकालय स्थापना गर्नुभएको थियो ।

ताजा समाचार