अन्तराष्ट्रिय मुर्तिकला कार्यशालाको आय व्यय सार्वजनिक - Elaka Khabar

अन्तराष्ट्रिय मुर्तिकला कार्यशालाको आय व्यय सार्वजनिक

अन्तराष्ट्रिय मुर्तिकला कार्यशालाको आय व्यय सार्वजनिक

गलकोट कला प्रतिष्ठानले अन्तराष्ट्रिय मूर्तिकला कार्यशालाको आज आय व्यय सार्वजनिक गरेको छ ।
प्रतिष्ठानले २०७६ फागुन ५ गतेदेखी २१ गतेसम्म गलकोट नगरपालिका वडा नम्वर ५ टेउवामा आयोजना गरेको मूर्तिकला कार्यशालाको आज टेउवामा कार्यक्रमको आयोजना गरी आय व्यय सार्वजनिक गरेको हो ।
कार्यक्रममा १ करोड ३० लाख ३१ हजार ६ सय ३१ रुपैया आम्दानी र १ करोड ३० लाख ३९ हजार ६ सय ५६ रुपैया खर्च भएको आर्थिक विवरण संस्थाका कोषाध्यक्ष यम बहादुर श्रीसले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले प्राकृतिक रुपमा सुन्दर र मनमोहक रहेको टेउवालाई मूर्तिकलाले थप सुन्दरता प्रदान गरेको बताउनुभएको छ । उहाँले गलकोट नगरमा पर्यटन प्रवद्र्धन गर्न यस अन्तराष्ट्रिय मूर्तिकलाले उल्लेख्य भूमिका खेल्ने कुरामा जोड दिनुभएको छ । निउरेले यसको सजावट, भौतिक पुर्वाधार निर्माण सँगै राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गरेर पर्यटक भित्राउन सबैले एक आपसमा हातेमालो गर्नुपर्ने बताउनुभएको थियो ।
सो अवसरमा गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्री, वडा नम्वर ५ का वडा अध्यक्ष पवन हमाल, वडा नम्वर ५ का निवर्तमान वडा अध्यक्ष नारायणध्वज मल्लले मन्तव्य राख्नुभएको थियो । त्यस्तै आगामी दिनमा मूर्तिकलाको महत्व, यसको विकास, स्तरोन्नती सँगै मूर्तिकला मार्फत गलकोटमा पर्यटन प्रवद्र्धन गर्ने विषयमा सरोकारवाला बिच अन्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रममा मूर्तिकला कार्यशालालाई जग्गा प्रदान गर्नुहुने जग्गादाता र आर्थिक सहयोगदाता हरु गलकोट नगरपालिका वडा नम्वर ५ निवासी तिल बहादुर खत्री, धन कुमारी खत्री, दल बहादुर पुन र भिम कुमारी शेरचनलाई सम्मान गरिएको थियो ।
कार्यक्रम गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्ण बहादुर रानाको अध्यक्षता, सदस्य सन्त बहादुर खत्रीको स्वागत र सचिव सुनमाया ढकालको सञ्चालनमा सम्पन्न भएको थियो । वि.सं २०७३ सालमा स्थापना भएको गलकोट कला प्रतिष्ठानले गलकोट नगरपालिका ५ को टेउवामा मूर्तिकला कार्यशालाको सम्भाव्यता अध्ययन गरी जग्गा व्यवस्थापन, आर्थिक व्यवस्थापन गरेर २०७६ साल फागुनमा अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न गरेको थियो । गलकोटलाई पर्यटकीय हबको रुपमा विकास गर्न मूर्तिकलाको संरक्षण र संवद्र्धन गर्न प्रतिष्ठानले आवश्यक गृहकार्य गरिरहेको छ । आयव्यय सार्वजनिक कार्यक्रम कोरोना भाईरस लगायत विविध कारणले गर्न नसकिएको संस्थाले जनाएको छ ।

ताजा समाचार